काठमडौँ, १२ फागुन
थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको आरोपमा प्रहरीले दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनकुमारी सिंहलाई पक्राउ गरेको छ ।
सिंहसँगै कोठाबाट अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । प्रहरी प्रवक्ता भीम प्रसाद ढकालका अनुसार शुक्रबार राति ११:४५ बजे प्रहरीको टोलीले काँडाघारीस्थित कोठामा पुगेर बालिकालाई उद्धार गरेको हो । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ ।
विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि सिंहले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रसूति गृहबाट बालिकाको चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेको बताइएको छ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् ।








