-विपिन यादव
जनकपुरधाम, ११ फागुन
नेपालकै दोस्रो ठूलो झोलुङ्गे पुलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गर्ने भएका छन् । धनुषा–सिरहा जोड्ने कमला नदीमा बनेको पुल फागुन १२ गते उद्घाटन गर्न लागिएको हो ।
करिब १५ सय मिटर लम्बाइ भएको झोलुङ्गे पुल साढे २५ करोडको लागतमा निर्माण भएको छ । उक्त पुल सिरहा नगरपालिका १३ मल्हनिया र धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठालमा पर्छ । पुल सञ्चालनमा आइसकेको छ । यद्दपी उद्घाटन भएको छैन ।
प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर चढेर फाल्गुन १२ गते विहान साढे ११ बजे काठमाडौंबाट सिधा जनकपुरधाम आइपुग्ने बताइएको छ । उनी साढे १२ बजे हुलाकी सडकको निरीक्षण र मध्यान्ह १ बजे झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम छ ।
सोही दिन दिउँसो १ः३० बजे प्रधानमन्त्री प्रचण्ड कमला नदीमै सिरहाको चिकना घाटमा पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको माओवादीका यूवा नेता अरबिन्द यादवले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड फागुन १२ गते नै सर्लाहीको बागमती नगरपालिका पुगेर खेलकुद मैदानको समुद्घाटन गर्ने कार्यक्रम पनि छ । त्यसपछि उनी काठमाडौं प्रस्थान गर्ने छन् ।








