काठमाडौँ, ११ फागुन
प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन् । शुक्रवार प्रतिनिधिसभा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको भनाभनका कारण प्रभावित भएपछि सभामुखले संवाद अघि बढाएका हुन् ।
बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबिच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेको डेढ घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन ।
बैठकमा एमालेले गत पुस १३ गते बालकुमारीमा २ युवा प्रहरीको गोलीबाट मारिएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । साथै सो छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।
यस्तै अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किरातीको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि सरकारबाट हटाउन माग गर्दै आएको छ । प्रतिपक्षी दलले राखेको माग सरकारले सम्बोधन नगर्दा संसदमा गतिरोध उत्पन्न भएको छ । –








