काठमाडौं, ९ फागुन
काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । श्रीमती, छोरी र नातिनीको हत्या गरेका राजु घिमिरे भन्ने काजी विकले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
३९ वर्षीय ईश्वरी श्रेष्ठ, उनका ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी शिवना घरभित्रै मृत भेटिएका थिए ।
श्रीमती र दुईछोरीको हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ । “बिहान ८ बजेतिर सासु रुकमाया श्रेष्ठ र ससुरा इन्द्रजितलाई फोन गरेर मैले तपाईंको छोरीलाई मारिसकेँ, घरमा गएर हेर्नुहोस् भनेका रहेछन्,” अनुसन्धानमा खटिएका एक प्रहरीले घटनास्थलमा भने, “फोनमा अब म पनि मर्छु भनेपछि ससुरालीले नै पहिले प्रहरीमा खबर गरेका रहेछन् ।”
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








