काठमाडौँ, ७ फागुन
प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै मान्छेलाई धम्काउने एक जना पक्राउ परेका छन् । काठमाडौं महानरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रवीन श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।
एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको लाजिम्पाटमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उनलाई नैतिकताविरुद्धको कसूर गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘आईडी हेर्छस्…, डीएसपीको आईडी हेर्छस् । तँलाई लगेर थुन्दिउँ’ भन्दै गाडी चलाउने व्यक्तिलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले ती व्यक्तिलाई ‘नेपाली नागरिकता छ कि छैन,’ भन्दै धम्काएको भिडियोमा देख्न सकिन्छ ।
प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ । घटनाबारे जानकार प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृत भन्छन्,‘उहाँ प्रहरी होइन ।’








