मोरङ, ४ फागुन
मोरङमा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझी रहेकी छन् ।
माझीले ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
डीएसपी दाहालका अनुसार माझीले धामी झाँक्री भएर झारफुकको काम गर्दै आएकी थिईन् । माझीको घरमा अश्तम पुजामा आएकी पिडित महिलालाई दियो चोरेको आरोप लगाउंदै कुटपिट गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार दियो हराएपछि जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । उनीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।








