थानकोट, १ फागुन
‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–६ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४, नैकापमा डेरा गरी बस्ने २४ वर्षीया अमिलाकुमारी साउद रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ति महिलाको साथबाट नेपाल प्रहरीको पोसाक एकजोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिह्न एक थान, नेमप्लेट एक थान, बुट एक जोर, बेल्ट एक थान र मोबाइल एक थान समेत बरामद गरेको छ ।
साउदले आफू नेपाल प्रहरीको ‘प्रहरी नायव निरीक्षक हुँ’ भन्दै एक महिलालाई प्रलोभनमा पारेर नगद ठगेको प्रहरीले जनाएको छ । उनले दैलेखको नारायण नगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा पारि नगद एक लाख ५० हजार रूपैयाँ ठगी गरेकि थिइन् ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।








