काठमाडौँ, २८ माघ
नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का ३८ वर्षीय छुल्टीम लामा, सोही ठाउँका राजेन्द्र तामाङ, बहादुर लामा, दावा दुण्डुप तामाङ र जितबहादुर तामाङ छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले शनिबार उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट दुई लाख रुपैयाँ नगद र मोबाइल फोन बरामद गरेको छ ।
रामेछापको दोरम्बा गाउँपालिका–४ की विनीता थापामगरलाई एक किलो नक्कली सुन देखाएर सुनमा लगानी गर्दा फाइदा हुने आश्वासन दिएर सात लाख ७५ हजार रुपैयाँ लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए । थापाले आफू ठगीमा परेको प्रहरीमा उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन् ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।








