कपिलवस्तु, २८ माघ
अर्घाखाँची जिल्लामा सरकारी जागिर गर्ने पहिलो मुस्लिम महिला बनेकी छिन् अप्सरा अलि । बाल्यकालदेखि नै पढाईमा निकै मिहिनेती अलिले लोक सेवा आयोगले लिएको परीक्षा पास गरेर स्टाफ नर्समा नाम निकाल्न सफल भएकी छिन् ।
मुस्लिम समुदायका व्यक्तिहरु व्यापार व्यवसायमा मात्र तल्लिन हुन्छन् भन्ने कुरालाई चिर्दै अलि जिल्लामै उदाहरण बनेकी छन् । मुस्लिम अगुवाहरुका अनुसार उनी मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने जिल्लाकै पहिलो एक मात्र स्टाफ नर्स हुन् ।
अहिले उनी तलबी बिदामा पूर्ण छात्रवृत्ति कोटामा महाराजगञ्ज नर्सिङ क्याम्पस टिचिङ अस्पताल काठमाडौंमा बि.एन.एस अध्ययनरत रहेकी छन् । अहिले अध्ययन गर्ने उनको अन्तिम वर्ष चलिरहेको छ । अफ्सराले सन्धिखर्कको जनज्योति माध्यमिक विद्यालयबाट २०६६ सालमा ७८ प्रतिशत अंक ल्याएर एसएलसी उत्तिर्ण गरेकी थिइन् ।
लुम्बिनी हस्पिटल एण्ड टेक्नोलोजी कलेजबाट पूर्ण छात्रवृत्तिमा ९२ प्रतिशत अंक लिएर प्रथम हुँदै उनले स्टाफ नर्स उत्तीर्ण गरेकी हुन् । २०७३ सालमा लोक सेवाले लिएको परीक्षामा खुल्ला रूपमा प्रतिस्पर्धा गर्दै पहिलो नम्बरमा उनको नाम निक्लियो । जागिरको सिलसिलामा कपिलवस्तु, रुपन्देही, गुल्मी हुँदै हाल उनी आफ्नै गृह जिल्ला अर्घाखाँचीमा कार्यरत रहेकी छन् ।
पहाडी भेगका मुस्लिम समुदायहरु परापूर्वकालदेखि नै व्यापार व्यवसायमा जोडिएको उनले सुनाइन् । ‘हाम्रो घरपरिवार पनि शुरुदेखिनै खेती किसानी गर्दै बुवाहरुको पालामा आइपुग्दा व्यापारमा जोडिनुभएको छ’ उनले भनिन्, ‘पढेर जागिर खानुपर्छ भन्ने मान्यता हाम्रो समुदायमा खासै देखिँदैन्, तर मलाई सरकारी सेवाप्रति नै लगाव भयो ।’
पछिल्ला नयाँ पुस्ताले भने सरकारी सेवाप्रति विस्तारै रुची राख्न थालेको उनले सुनाइन् । उनले आफ्ना साथीसंगीहरुलाई पनि सरकारी सेवामार्फत नागरिकको सेवामा लाग्न अग्रसर हुनुपर्नेमा सुझाव दिइन् । (मध्यान्ह राष्ट्रिय दैनिकबाट )