काठमाडौँ, २४ माघ
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले सहकारीका ठगहरूलाई कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सो माग गरेका हुन् ।
रविले सरकारी जग्गा किर्ते गर्नेलाई पहिला पार्टीबाट कारबाही गरेर देखाउनसमेत चुनौती दिएका थिए ।
उनले भने– ‘पुराना दलहरूले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू दलको पदाधिकारी रहन्छन्, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्छु भनेको भाषणलाई कार्यरुप दिनका लागि विश्वविद्यालयमा भातृ सङ्गठन नराख्नका लागि निर्णय गरेर काम अघि बढाउने हो कि ? सरकारी जग्गा किर्ते गर्नेहरू, आफ्नै वरिपरि छन् कि ? पार्टीगत रूपमा तिनलाई कारबाही गरेर सुशासनको उदाहरण दिने हो कि ? नागरिकता किर्ते गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ? लामो समय सरकारमै भएजस्तो लाग्छ । राजनीतिमा सरकारमा वर्षौँ हुँदा पनि रोक्यो चाहिँ के ले ? नयाँ दलले ? नयाँ मान्छेले ?’
अधिकारप्राप्त निकायले भ्रष्टाचारमा छानबिन गर्न बोलाउँदा कांग्रेसका मन्त्री र सांसद नगएको प्रति सांसद लामिछानेले बैठकमा कटाक्ष गरेका थिए ।








