काठमाडौँ, २२ माघ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ । चन्दले शुक्रबार राजीनामा दिएका थिए ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको हो । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले प्रहरीलाई दोषी देखाएपछि चन्द असन्तुष्ट बनेका थिए ।
गृह मन्त्रालयले बनाएको छानबिन समितिले घटनामा संलग्न असई संजय तामाङलाई निलम्बन गर्दै अन्य फिल्ड कमाण्डर डीएसपी रेवतीरमण पोखरेललाई सचेत र प्रहरी जवान गुप्तालाई विभागीय कारबाही गर्न सफिारिस गरेको थियो । अध्यागमन अधिकृत छायालाल भने त्यहाँबाट सरुवा गरेर विभागीय कारबाहीका लागि मात्रै सिफारिस गरेको थियो ।
त्यसपछि आफू मातहतका प्रहरी कर्मचारीमाथि कारबाहीको डण्डा लगाएपछि चन्दले राजीनामा दिएको एक प्रहरीले बताएका थिए ।








