सिरहा, २१ माघ
सिरहाबाट लागूऔषधसहित बुबा र दुई छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका ७ घर भई हाल ८ नम्बर वडामा डेरा गरी बस्ने ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराहरू २९ वर्षीय प्रमोद ठाकुर र २५ वर्षीय राकेश ठाकुर रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरूको साथबाट कोडबिल सय एमएलको १५ बोतल, वीक्सडीन सय एमएलको ६५ बोतल, डाईजीफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल र नुरफ्रेन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट एक लाख ३९ हजार नगद समेत बरामद गरेको छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।








