काठमाडाैं माघ १५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने राहदानी विभागका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राहदानी बनाइदिने भनी सेवाग्राहीहरूसँग ३४ हजार रुपैयाँ घुस लिएका विभागका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार विभागको उजुरीका आधारमा भट्टराईमाथि अनुसन्धान हुँदा उनले घुस लिएको पुष्टि भएको हो । उनी विभागमा करारमा कार्यरत कर्मचारी हुन् ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा चौतीस हजार रुपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको घिमिरेले जानकारी दिए ।
उनका अनुसार भट्टराईलाई घुस दिने सुमित्रा सापकोटाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सापकोटाले घुस वापत्को रकम भट्टराईको खातामा जम्मा गरेको पाइएकोले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता घिमिले जानकारी दिए । सापकोटालाई पनि समान चौतीस हजार रुपैयाँ नै बिगो कायम गरी गरिएको छ ।








