काठमाडाैं असार २,
नेपाली विभूति सीताको बारेमा विवादित वाक्यांश राखेकोमा नेपालमा आलोचना भइरहेको फिल्म ‘आदिपुरुष’ भारतमै पनि विवादित बनेको छ ।
ऐतिहासिक र पौराणिक तथ्यमा छेडछाड गरिएको भन्दै फिल्मको आलोचना भइरहेको छ । बाहुबली प्रभासको बहुप्रतिक्षित फिल्म आदिपुरुष शुक्रवार रिलिज भएको हो ।
फिल्मको प्रस्तुतिले हिन्दू भावनामाथि ठेस पुर्याएको आरोप लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मविरुद्ध अदालतमा मुद्दा समेत परेको छ ।
फिल्ममाथि प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा रिट दायर भएको छ । हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले रिट दायर गरेका हुन् । फिल्ममा भगवान् श्रीराम र रामायणको मजाक गरिएको आरोप छ । फिल्मले हिन्दू संस्कृतिमाथि पनि प्रहार गरेकाले सीता, राम र हनुमानसँग सम्बन्धित कतिपय दृश्य हटाउन माग गरिएको छ ।
‘जानकी भारत की बेटी है’ वाक्यांशलाई हटाउनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले काठमाडौंमा फिल्ममाथि रोक लगाएका छन् । फिल्म रिलिज हुनुअघि पनि पटक–पटक विवादमा गर्दै आएको थियो ।