चितवन, मंसिर १७ –
अंग्रेजी नयाँ वर्षको अवसरमा नारायणगढको क्याम्पाचौरमा चितवन म्युजिक फेस्ट हुने भएको छ ।
एस्ट्रल युथ सोसाइटीसँगको सहकार्यमा डिजिफ्लाई ब्राण्डिङ एजेन्सीले आगामि पुस १६ र १७ गते उक्त कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम गर्न लागिएको बारेमा आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
डिजिफ्लाई ब्राण्डिङ एजेन्सीका प्रमुख प्रसुन श्रेष्ठका अनुसार कार्यक्रममा राष्ट्रिय कलाकारहरु सबिन राई, नविन के भट्टराई, कबवेब ब्याण्ड, कालीप्रसाद बास्कोटा, दि एलिमेन्ट्सको प्रस्तुत रहने छ । साथै १७ वटा फुड स्टलहरु समेत रहने छन् । फुड स्टल व्यवसायीहरुले निःशुल्क रुपमा राख्न पाउँछन् । साथै कार्यक्रममा गेम स्टल, फेस पेन्टिङ स्टलहरु समेत राखिने जनाइएको छ ।
एस्ट्रल युथ सोसाइटीका प्रमुख प्रकाश भुजेलले कार्यक्रममा प्रवेशका लागि दुई किसिमको टिकट व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार पाँच सयको रेगुलर र एक हजारको भिआइपी टिकट रहेको छ ।
६५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको बताउँदै भुजेलले कार्यक्रममा १० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा राखिएको बताए ।