कुमार गुरुङ
चितवन,५ साउन –
पृथ्वीको दीगो भविष्यका निम्ति पारिस्थितिक प्रणाली (Ecosystem) को सन्तुलनका अवयवहरू भुगोल/ धरातल, प्राणी/मानव जीवन, प्रकृति, वनस्पति,मौसम तथा पर्यावरण/ वातावरण जस्ता पक्षको स्थीरता महसुस गरि बिश्व समुदायले चासोका साथ विभिन्न प्रकारका नीति, कार्यक्रम तथा परियोजनाहरु लागु गरिरहेको देखिन्छ।
सर्वश्रेष्ठ प्राणी भनिएको मानवका क्रियाकलापहरु ; वन बिनाश/क्षयिकरण, बड्दो शहरिकरण,औधोगिकररण,जिवास्म इन्धनको बड्दो प्रयोग, विषादीयुक्त कृषि उत्पादन तथा भु- उपयोग नीति लगायतका कारणले अनियमित वर्षा,खडेरी,हिमपात,कृषि उत्पादनमा विचलन, प्राकृतिक प्रकोप, इन्धनको अभाव, विभिन्न प्रकारका प्राणी तथा वनस्पतिको लोप हुदै गएकाले
वन तथा जैविक विविधता संरक्षण, कृषि,खाध सुरक्षा, जनस्वास्थ्य, जलस्रोत तथा सौर्य उर्जा उत्पादन, फोहोरमैला व्यवस्थापन र प्रदुषण नियन्त्रण, जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास भइरहेको देखिन्छ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा विश्वको बाघ पाइने १३ देशले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता ब्यक्त गरे। नेपालमा प्रथम पटक सन् २००८/०९ को सर्वेक्षणमा १२१ वटा बाघ तथ्याङ्कले देखाउँछ, सन् २०१४ मा बाघ सर्बेक्षण हुँदा १९८ रहे पनि सन् २०१७/१८मा पाटे बाघको सङ्ख्या २३५ पुगेको देखिन्छ। जसमा ५ निकुञ्ज मध्ये पर्सामा १८, चितवनमा ९३, बाँकेमा २१, बर्दियामा ८७, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ पाएकोमा यस ४ वर्षमा ३७ वटा बाघ बढेकोले पछिल्लो ४ वर्षमा १५ वटा मात्र बढाउन सके पनि सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर (२५०) वटा पुर्याउन नेपाललाई कठिन नहुने अनुमान बाघ बिज्ञ हरु बताउछन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार निर्धारित लक्ष्यमा पुग्न बाघको आहारा, बासस्थानमा ध्यान दिनु पर्ने भए पनि मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न बढ्दो जनसंख्या र शहरिकरण सङगै चोरि तस्करी नियन्त्रण मुख्य चुनौती रहेको देखिन्छ। साथै बाघको सङ्ख्या बढ्दै जाँदा वनको बासस्थान छोडी बाहिर मानव वस्तीमा आउने र विभिन्न किसिमका दुर्घटना हुन सक्ने देखिन्छ ।
पछिल्लो समय राप्ती नगरपालिका तथा समग्र चितवन जिल्ला भित्र बाघको शृङ्खलावद्ध आक्रमणका कारण चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरुमा त्रास बढ्दै गएको छ । जंगल क्षेत्र बाघको बासस्थान भएकाले निकुञ्ज वा सामुदायिक वन प्रवेश गर्दा व्यक्ति स्वयंले सावधानी अपनाउनै पर्छ । सकभर वन क्षेत्रमा प्रवेश नगर्ने, जानै परे समूहमा जाने, बाघको ताजा पाइला वा दिशा छ/छैन निरीक्षण गर्ने, झाडी र खोल्साहरुमा चनाखो हुने, लाठी लिएर हिँड्ने र जतिबेला पनि रुख चढ्नु पर्ने अवस्था आउन सक्छ भनेर तयार रहन सके केही हदसम्म बाघको आक्रमणबाट बच्न सकिन्छ ।
मानव तथा वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न राष्ट्रिय निकुञ्जको प्रशासन, सुरक्षा निकाय, मध्येवर्ती संरक्षण क्षेत्र, सामुदायिक वन, स्थानीय तह तथा बासिन्दाहरू सबै सजग बनि सचेतना फैलाउदै बाघ तथा वन्यजन्तुआतंकबाट जोगिन सावधानी अपनाउनुको विकल्प छैन । वन हेरालु वा निरीक्षकको पर्याप्त ब्यवस्था गरि वन क्षेत्रमा सिमित अवधिका लागि खुल्ला गर्ने वा सुरक्षामा खटिएका जनशक्तिलाई साधन स्रोत र प्रविधिमैत्री बनाउन आवश्यक छ। आफ्नो आनीबानी परिवर्तन गरौँ, बाघको आक्रमणबाट बचौँ र अमुल्य जीवन बचाउ !
(लेखक गुरुङ इलाका प्रहरी कार्यालय, भण्डाराका प्रमुख एवं प्रहरी निरिक्षक हुन्)