असोज २३ ,भरतपुर-
भरतपुर महानगरपालिका–४ ,धर्मपथ टोलअन्तर्गत धर्मचोकदेखि पश्चिम २ सय मिटर अगाडिसम्मको सडकखण्डको मर्मत कार्य आज सम्पन्न गरिएको छ। “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत स्थानीयवासीहरूको श्रम, लगानी र सहभागितामा गरिएको उक्त कार्यले आवागमन सहज र सुरक्षित बनेको छ।
उक्त सडकखण्डमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला मालवाहक गाडीहरूको अत्यधिक ओहोरदोहोर हुने भएकाले खाल्डाखुल्डीका कारण पैदलयात्रीहरू समेत जोखिममा परेका थिए। स्थानीयहरूको संयुक्त प्रयासमा गिटी, बालुवा र सिमेन्ट प्रयोग गरी मर्मत गरिएको हो ।
कार्यक्रममा group 4 social का सदस्यहरू, सल्लाहकारहरू, स्थानीय अग्रजहरू , बासिन्दाहरूको सक्रिय उपस्थिति र श्रम रहेको थियो। समूहले बाँकी सडकभागहरू पनि क्रमिक रूपमा मर्मत गर्दै जाने जनाएको छ।
भरतपुर -४ मा सक्रिय group 4 social नामक संस्थाले धार्मिक र सांस्कृतिक एवम् स्वास्थ्यका दृष्टिले महत्त्वपूर्ण वर- पीपल, बेल आदिका बिरुवा रोपण गर्ने , लत्रेका तारहरूको व्यवस्थापन गर्ने लगायतका कार्यहरू गर्दै आइरहेको ग्रुपका सल्लाहकार समाजसेवी भोजनारायण कँडेलले जानकारी दिनुभयो।