चितवन असोज २
फ्रान्सको पेरिसमा हुने अन्तर्राष्ट्रिय उद्यमी मेला (ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प)मा भाग लिने पाँच सदस्यीय समूहलाई भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले शुक्रबार बिहान बिदाइ गरेको छ । चार जना विद्यार्थी तथा एक शिक्षक प्रतिनिधिकोे समूह शुक्रबार भरतपुर विमानस्थलदेखि काठमाडौँ प्रस्थान गरेको हो । फ्रान्सको पेरिसमा हुने उक्त कार्यक्रमका लागि शुक्रबार राति नौ बजे काठमाडौँदेखि दुबई हुँदै फ्रान्सको पेरिस प्रस्थान गर्नेछन् ।
विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलको नेतृत्वमा रहको उक्त टोलीमा कक्षा ११ र १२ का विद्यार्थीहरूले भाग लिँदैछन् । कार्यक्रममा उद्यमीहरू, विद्यार्थीहरू र विभिन्न पेशामा आवद्ध व्यक्तिहरू विश्वभरबाट आवेलन एवं सिकाइकाका लागि सहभागी हुनेछन् ।
उद्यमीहरूका साथै इच्छुक उद्यमीहरूको रुचिअनुसार उद्यममा उनीहरूको भविष्य निर्माणका लागि सहजता सिर्जना गर्न आवश्यक सीपहरू विकास गर्नको लागि जीवनभरको अनुभव प्रदान गर्न डिजाइन गरिएको चार दिवसीय गहन शैक्षिक÷नेतृत्व सत्रको श्रृंखला हो ।
११औँ संस्करणको ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प कात्तिक ५ गतेदेखि ८ गतेसम्म फ्रान्सको राजधानी पेरिसस्थित सोरवन युनिभर्सिटीमा आयोजना हुनेछ । यो उद्यमी मेलामा विश्वभरका आकांक्षी उद्यमीहरू र भविष्यमा उद्यम अपनाउने सोच भएका युवाहरूले आफ्नो व्यापारिक नवीन विचारहरू विकास गर्न र मूल्यवान सीप सिक्न तथा सफल व्यवसायका लागि ‘आइडिया मास्टर’हरूका विचार ग्रहण गर्नका लागि यसको प्रारूप तयार पारिएको हो ।
ग्लोबल अन्टरप्रेन्योरशिप बुटक्याम्प इन्कर्पोरेशनको मुख्यालय संयुक्त राज्य अमेरिकाको डेलावेयरमा रहेको छ भने यसले यसअघि नै एशिया, मध्यपूर्व र अमेरिकामा उद्यमशील इकोसिस्टमको निर्माण र अन्वेषण गर्ने दसवटा संस्करणहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ‘सुरु गरौ, आफ्नो उद्यमको मापन आफै गरौँ’ भन्ने नारा दिइएको यस महामेलामा विश्वभरबाट युवाहरुको सहभागिता रहने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । बुटक्याम्पमा भाग लिन विद्यालयमा विद्यार्थीबाट प्राप्त आवेदनमध्ये चार जनाको मात्र आवेदन स्वीकृत भई भिजा लागेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
यसबाहेक, विद्यालयको अतिरिक्त क्रियाकलापअन्तगर्त फ्रान्सको पेरिसलगायत स्वीट्जरल्यान्डको जेनेभा र ज्यूरिक तथा जर्मनीको म्युनिखमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको निर्देशक पौडेलले जानकारी दिए । यसअघि भएको १०औँ संस्करण युएईको दुवईमा सम्पन्न भएको थियो । सो कार्यक्रममा समेत अङ्कुरम् एकेडेमीका तीन जना विद्यार्थी र एक जना प्राध्यापकले आफ्नो प्रस्तुती पेस गरेका थिए ।