नारायणगढ (चितवन), फागुन १०-
भरतपुर महानगरपालिकाअन्तर्गत पर्ने मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखले स्थलगत अनुगमन गर्नुभएको छ ।
उहाँहरूले नारायणगढको लाइन्सचोकदेखि पुल्चोकसम्मको क्षेत्रमा अनुगमन गर्नुका साथै सर्वसाधारण, सवारी चालक तथा व्यवसायीलाई ट्राफिक नियमको पालना गर्न सचेतना गराउनुभएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले सवारीसाधन जथाभावी रोक्दा दुर्घटनाको जोखिम बढ्ने, यात्रुलाई असहजता हुने तथा व्यवसायीहरूलाई असर पर्ने भएकाले यातायात व्यवस्थापन सबैको दायित्व रहेको बताउनुभयो । उहाँले स्थलगत रूपमा नै चालक, व्यवसायी र यात्रुको समस्या बुझ्दै सबै पक्षलाई सजग गराउनुभएको थियो । सवारीसाधन अव्यवस्थित रूपमा रोकिँदा हुने समस्या औँल्याउँदै उहाँले महानगरपालिका र डिभिजन सडक कार्यालयलाई बिग्रिएको सडक मर्मत तथा सुधार गरी व्यवस्थित बनाउन निर्देशन दिनुभयो ।
साथै, उहाँले व्यवसायीहरूले पसल बाहिर राखेका सामग्री हटाउन र तोकिएको स्थानमा मात्र पार्किङ गर्न, चालकलाई नियमअनुसार सवारी चलाउन, यात्रुहरूले तोकिएको स्थानमा बाटो काट्न र हिँड्न, साथै सुरक्षाकर्मीले नियम नमान्नेहरूलाई कारबाही गरी सचेत गराउन निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, “यातायात व्यवस्थापनका लागि सर्वपक्षीय निर्णय भएको छ । सबै सरोकारवालाबीच भएको निर्णयअनुसार पालना गर्नुपर्छ, अन्यथा कारबाही हुन्छ ।” नियम पालना नगरेको अवस्थामा सम्झाउँदा अटेर गरे कानुनअनुसार कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो ।
अनुगमनका क्रममा डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले बजार क्षेत्रमा कुनै सडक बिग्रिएको खण्डमा तत्काल मर्मत गरिने बताउनुभयो । उहाँले सडक नियमको पालना गर्न सबैमा आग्रह गर्नुभयो । लामिछानेले उक्त बजार क्षेत्र एसियाली मापदण्डअनुसारको राजमार्गअन्तर्गत पर्ने भएकाले सोहीअनुसार व्यवस्थित हुनुपर्ने र सबैले ट्राफिक नियमको अनिवार्य रूपमा पालना गर्नुपर्ने धारणा राख्नुभयो ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापाले यातायात व्यवस्थापन समितिको बैठकबाट भएका निर्णय कार्यान्वयन गर्न आफूहरू सक्रियतापूर्वक लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यान्वयन पहिलेदेखि नै हुँदै आएको हो, तर थप व्यवस्थित बनाउन कडाइका साथ अघि बढेका छौँ ।”
थापाले आजको अनुगमनका क्रममा सचेतना गराउने कार्य गरिएको उल्लेख गर्दै यसलाई हरेक दिन निरन्तरता दिइने र निर्णय पूर्ण रूपमा कार्यान्वयन गरेरै छाड्ने स्पष्ट पार्नुभयो । रासस








