– अर्जुन अर्याल
चितवन, फागुन ४ –
धेरै सुन्दै र पढ्दै आएको कथनी हो,”नेपाल विकासोन्मुख राष्ट्र हो ।” यसको सिधा अर्थ हुन्छ, विकासतर्फ उन्मुख भएको राष्ट्र अर्थात विकास गर्न उद्दत राष्ट्र हो । कहीँकतै यो कथनीमा पनि यथार्थता नझल्किएको देखिन्छ,किनभने हामी विकासशील वा विकासोन्मुख भन्दा पनि विकासपेक्षी राष्ट्र ज्यादा हौँ, हामी विकास होस् भन्ने चाहाने राष्ट्र बढि हौँ ।
नेपालमा विकास चाहाँदा चाहाँदै पनि व्यक्तिगत भविष्य बनाउने आसामा विदेशिएका कारण प्रतिभा पलाएनको चरम् संकटबाट गुज्रिरहेका छौँ ।
यसो त हामी नेपाली विदेशिनुमा वा बसाईसराई हुनुमा फरक फरक मत पाईन्छ । तर सारमा अवसरको खोजिमा मानिस एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरित भएको छ ।
सामान्य रोजगारीका लागि बिदेशिनु हाम्रो बाध्यता बनेको छ । तर के बाध्यतालाई नियती बनाउने? वा केही आत्मविश्वासका साथ स्वदेशमै केही गर्ने? यो समकालीन परिस्थितिले जन्माएको यक्ष प्रश्न हो ।
हामी पछिल्लो विश्वले प्राप्त गरेको परिणामलाई मात्रै पनि केलाउने हो भने त्यस्ता देशहरुले प्रगती गरिरहेका छन्,जुन देशमा उद्यमशीलताको विकास भएको छ र त्यस्ता देशहरु पछाडी परका छन्,जहाँ रोजगारी/जागिर लाई प्रधान ठानिन्छ । उद्यमको निरन्तता नै उद्यमशीलता हो,जसले व्यक्तिलाई व्यवसायीकता तर्फ धकेलिरहन्छ ।
तर उद्यमशीलताको बाटो त्यति सहज पनि छैन,किनभने हामीकहाँ यसको अभ्यास ईतिहासदेखी नै कमजोर रहेको छ । कुनैपनि व्यक्ति सर्वप्रथम रोजगार हुनु जरुरी छ । किनभने रोजगारले व्यक्तिलाई ज्ञान सीप र अवधारणाको अभ्यास गराउँदछ,साथै आर्थिक उपार्जन समेत गर्न सक्दछ ।
विश्व बैङ्का अनुसार पनि १५ बर्ष भन्दा माथीको उमेर समुहका करिब ६० प्रतिशत मानिस जागिरे देखिन्छन् । यसको अर्थ,संसारमा अधिकांश मानिस जागिरे देखिन्छन् । शून्य जोखिम, सहज र भरपर्दो हुने भएकाले मानिसहरु जागिरप्रती आकर्षित देखिन्छन् । तर यो स्वावलम्बनको दिगो उपाए भने हैन ।
जागिरबाट प्राप्त व्यवसायिक सिकाईलाई व्यक्तिगत तहमा प्रयोग गर्ने तहलाई हामी स्वरोजगार भन्न सक्दछौँ । अरुको भरमा नरही आफ्नै स्वतस्फूर्त रुपमा गरिने कर्मनै स्वरोजगारिता हो । स्वरोजगारिताले हामीमा जोखिम मोल्न सक्ने,व्यक्तिगत निर्णय गर्न सक्ने क्षमतामा अभिवृदि गर्दछ । यो पनि व्यवसायीकताकै प्रारम्भिक चरण हो । स्वरोजगार भएपछि व्यक्तिलाई उद्यमशीलताले घचघच्याउन थाल्नेछ ।
उद्यम भन्नाले स्वरोजगार मात्र नभई अरुलाई पनि रोजगार दिने तह हो । आफू मात्र बाँच्ने नभई अरूलाई पनि बचाउने तह हो । उत्पादन वा वितरणको सेवा प्रवाह गर्दै समाज र राष्ट्रलाई योगदान दिने उपल्लो मानक नै उद्यम हो, जुन पुर्ण रुपमा व्यवसायीकता हो । समग्रतामा विश्वको कुल जनसंख्याको करिब १०% मानिसले मात्र उद्यम गरिरहेको विभिन्न तथ्यहरुले देखाएका छन्, देशअनुसार तथ्याङ्क तलमाथी हुन सक्दछ । तर यसबाट के देखिन्छ भने,उद्यम गर्न दह्रो र फराकिलो मुटु हुनुपर्दछ ।
उद्यम भनेको केवल व्यवसाय स्थापना गर्ने क्रिया मात्र होइन, यो एक जीवनशैली, एक सोच, एक अभियान र एक संस्कृति हो। यो व्यक्तिको सपना, लगनशीलता, र जोखिम उठाउने क्षमताको प्रतिबिम्ब हो। उद्यम केवल आर्थिक लाभको लागि मात्र होइन, यो समाजमा परिवर्तन ल्याउने, नवीनता सिर्जना गर्ने, र आत्मसन्तुष्टि प्राप्त गर्ने एक माध्यम पनि हो। केवल पुँजी मात्र पनि उद्यमी बन्नको आवश्यक तत्व हैन,यसका लागि उच्च मानसिकता, धैर्यता, र जोखिम उठाउन सक्ने इच्छाशक्ति पनि चाहिन्छ। उद्यमीहरूले असफलतालाई अवसरको रूपमा हेर्छन् र प्रत्येक गल्तीबाट सिक्ने प्रवृत्ति राख्छन्। उनीहरूको दृष्टिकोण सदैव सकारात्मक हुन्छ, र उनीहरूले समस्याहरूमा अवसर देख्छन्। किनकी हरेक कमजोरीमा सिकाई र हरेक समस्यामा सामधान पनि लुकेको हुन्छ । सुरुमै भनिएजस्तो,कुनै ठाउँ वा देश कति विकसित छ भन्ने कुरा त्यहाँको उद्यमशीलतासँग प्रत्यक्ष जोडिएको हुन्छ ।
हाम्रो जस्तो विकासापेक्षी राष्ट्र उद्यमशीलताका लागि भर्जिनल्याण्ड हो,किनकी हामी जुनसुकै कर्म गर्न सक्छौ । कृषी,जल,जङ्गल,जमिन,प्रयोग गर्दै प्रविधी र ईन्टरनेटको सहयोगमा नयाँ नयाँ स्टार्टअपहरु सुरु गर्न सकिन्छ । ईकमर्शका माध्यमबाट उत्पादक र बिक्रेता सिधै उपभोक्तासँग जोडिन सक्ने अवस्था छ । कम लागतमा व्यापक बजारीकरण गर्न सकिन्छ । जुन भौतिक उपस्थितीभन्दा धेरै सहज छ र लागतका हिसाबले पनि सस्तो हुन्छ ।
तर हामी सरकारले वा सरोकारवालाले व्यवसायमैत्री वातावरण सिर्जना गरेन भन्ने निम्छरो लघुताभाषमा रुमलिरहेका छौ । वास्तवमै भन्ने हो भने संसारमा कुनै पनि व्यवसाय सुरु गर्दा एकैपटकमा सजिलै सुरु हुनै सक्दैन,सानो तहबाट सुरु भई विस्तारै अनुकुलन हुँदै ठूलो बनेर प्रवाहित हुन्छ ।
बजारको अनिश्चिततालाई पुर्व आँकलन गर्दै भैपरी आईलाग्ने जोखिम वहनका लागि तयार हुनुपर्दछ । त्यसैगरि बजार प्रतिष्पर्धा सँग जुध्दै नविनता र पृथकता अपनाउनुपर्ने हुन्छ । बजारको माग र सेवाग्राहीको सन्तुष्टिलाई केन्द्रमा राखेर अगाडि बढन सकियो मात्र भने पनि उद्यममा सकारात्मकता देखिनेछ । विभिन्न चुनौतीहरुले व्यक्तिलाई थप स्पातिलो बनाउने हुँदा अनुभवको सिकाईले व्यवसायीमा निखारता पनि ल्याउने छ ।
अवसरको खोजीमा पलाएन भईरहेको युवापुस्ताले अब सोच्नुपर्ने बेला आएको छ, रोजगारीकै लागि बाहिर जाने कि अब स्वदेशमै केही गर्ने? स्वदेश वा विदेशमा प्राप्त सिपलाई उद्यमशितलामा परिणत गर्न सकियो भने आगन्तुक पुस्ताले यहीँ केही गर्नेछ । हामी यो एक पुस्ताले मनोबल बढाउने हो भने भविष्यका लागि सहज मैदान तयार गर्न सक्नेछौँ । संसारमा कहीँ कतै एकैपटकमा सफलता प्राप्त गरेका व्यवसायी छैनन्,हामीले धेरैका जीवनी पढेका देखेका छौँ,त्यसैले अब अन्तिम एक पटक जेहाद छेँड्न तयार हुनुपर्दछ ।
उद्यम केवल वित्त कारोवार मात्र नभई, सीप र जीवनपद्दती हो । देशको आर्थिक सबलीकरणको साधन हो । आत्मनिर्भरताको प्रतिबिम्ब हो । वैयक्तिक स्वतन्त्रता र स्वनिर्णयको बहान हो । दर्शन हो । त्यसैले उद्यम जीवनको एक आयाम हो ।