काठमाडौँ, ३१ असोजः
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन र आगामी फागुन २१ गते निर्धारण गरिएको आमनिर्वाचनका विषयमा बहस भइरहेको छ ।
कांग्रेसको वर्तमान केन्द्रीय समितिको नियमित चारवर्षे कार्यकाल आगामी मङ्सिरमा सम्पन्न हुँदैछ भने गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि गठन भएको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन घोषणा गरेको छ ।
यही असोज २८ गतेदेखि जारी बैठकमा पहिलो दिन पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलगायत विविध विषयमा विशेष सम्बोधन गर्नुभएको थियो । उहाँले विधानअनुसार पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने आग्रह गर्दै आफूले वैधानिक व्यवस्था र राजनीतिक इच्छाअनुसार १५औँ महाधिवेशनमा विधिवत् नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको थियो ।
साथै सभापति देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी तोक्नुभएको छ । उहाँले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हुने धारणासमेत राख्नुभएको थियो ।
बैठकको दोस्रो दिन (असोज ३० गते) कावा सभापति खड्काको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउनुभएको थियो भने महामन्त्री गगनकुमार थापाले विभिन्न १० प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।