काठमाडाैं माघ २०
हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
आज सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज देशभर साधारणतया बदली रहनेछ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।
बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार राति सुदूरपश्चिम र कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा छिटपुट वर्षाको सम्भावना छ।
वर्षा र हिमपात ल्याउने मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्ने छ । चिसोका कारण स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्ने सम्भावना छ । त्यसैले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








