काठमाडौँ, १८ माघ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट प्रकरणमा नेपाल प्रहरीका असई सञ्जय तामाङलाई निलम्बन र अध्यागमन अधिकृत छायालाल मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ ।
प्रहरी र विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितिले सो सिफारिस गरेको हो । घटनामा संलग्न दुई प्रहरी जवानलाई विभागीय कारबाही गर्न पनि समितिले सिफारिस गरेको छ ।
विमानस्थलमा खटिएका प्रहरीको तत्कालीन समयमा ‘कमान्ड’ गरेका डीएसपी रेवतीरमण पोखरेलले आफू मातहतका प्रहरी कर्मचारीलाई कुशलतापूर्वक कमान्ड गर्न नसकेको छानबिन समितिको निष्कर्ष छ । त्यसैले डीएसपी पोखरेललाई पनि सचेत हुन सिफारिस गरिएको छ ।
घटना भएको दिन डीआईजी अर्जुनचन्द ठकुरी बिदामा भएकोले डीएसपी पोखरेलले कमान्ड गरेका थिए ।
माघ १२ गते शुक्रबार विमानस्थलमा ‘चेकिङ’का क्रममा अध्यागमन अधिकृत छायालाल मोक्तान र प्रहरीबीच कुटाकुट भएको थियो । उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वको तीन सदस्यीय समिति गठन गरिएको थियो ।








