धनगढी माघ, १७
कैलालीको अत्तरियामा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको भन्दै दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
टिकट व्यवस्थापनको जिम्मा पाएका उद्योग वाणिज्य संघका सचिव तथा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध उद्योग वाणिज्य संघका पदाधिकारीले जाहेरी दिएका थिए ।
अत्तरिया उद्योग वाणिज्य संघले गत २६ पुसदेखि ७ माघसम्म आयोजना गरेको प्रादेशिक महोत्सवमा दर्शकलाई नक्कली प्रवेश टिकट बिक्री गरेको भन्दै मंगलबार कैलाली प्रहरीमा किटानी जाहेरी परेको थियो ।
‘नक्कली टिकट बिक्रीमा संलग्न भएको भन्दै उहाँहरु दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । हामीले मंगलबार नै अदालतबाट पक्राउ पुर्जी लिइसकेका छौँ,’ डीएसपी चन्दले भने, ‘कानुनअनुसार पक्राउ गरेर अनुसन्धान गछौँ ।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुलदीप चन्दले दुवै जनाविरुद्ध मुद्दा दर्ता गरेर मंगलबार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितका १२ जना पदाधिकारीले नक्कली टिकट बिक्रीमा साउँद र महराको संलग्नता रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
सुदूरपश्चिम प्रादेशिक महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकटका ठेली बरामद गरिएका थिए ।
दर्शकलाई नक्कली टिकट बिक्रि गरेर हानीनोक्सानी गरेको भन्दै उद्योग वाणिज्य संघले संलग्नलाई कारबाही हुनुपर्ने माग गर्दै यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएको थियो ।
उद्योग वाणिज्य संघका अध्यक्ष बोहराले नक्कली टिकट बिक्रीमा संलग्न भएको आशंका गरिएका व्यक्तिलाई आत्माआलोचना गर्दै व्यवसायीसँग माफी माग्न आग्रह गरिएको बताए तर उनीहरु तयार नदेखिएपछि बाध्य भएर प्रहरीमा किटानी जाहेरी दिइएकाले अब कानुनी प्रक्रियाबाट नै यो मुद्दाको छिनोफानो हुने बोहराले बताए ।








