काठमाडौँ, पुस ४
प्रधान सेनापति प्रभुराम शर्माले नेपाल आर्मी कसैको न्वारन गराउने संस्था नभएको बताएका छन् ।
शर्माले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेर नागरिकता विवादबारे सोधिएको प्रश्नमा सो प्रष्टीकरण दिएका हुन् ।
नेपाली सेनाबाट राजीनामा दिएका उपरथी ताराध्वज पाण्डे र हालका रथी अशोक सिग्देलका नागरिकता विवादबारे सांसदहरुले उनलाई प्रश्न गरेका छन् । नागरिकता कीर्ते विवादपछि उपरथी पाण्डेले गत कात्तिक २३ गते पदबाट राजीनामा दिएका थिए भने अर्का उपरथी सिग्देललाई मंसिर २८ गते रथीमा बढुवा गरिएको थियो। पाण्डे भावी प्रधान सेनापतिको रोलक्रममा थिए । उनले राजीनामा दिएपछि यो रोलक्रममा सिग्देल आइपुगेका थिए ।
यी दुई घटनाबारे प्रधान सेनापति शर्माले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा विस्तृतमा जानकारी गराएका छन्। उनले दुवैले नागरिकता कीर्ते नगरेको बताए ।
‘मैले प्रमाण नै ल्याएको छु, माननीयज्यूहरूलाई झुक्याउने र नेपाल सरकारको कानुनलाई मिच्ने म गर्दिनँ । ताराध्वज पाण्डेको नाम रथिका लागि सिफारिस भएको होइन। हजुरहरूले बनाएको ऐनअनुसार सात दिने सूचना निकालेको हो,’ उनले भने, ‘त्यो सूचना भनेको कसैको केही गोलमाल छ भने ल्याउनुस्, पेस गर्नुस् त्यसलाई कारबाही गर्छु भनेको हो।’
कसैलाई बढुवा सिफारिस गर्नुभन्दा पहिले केही कमीकमजोरी छन् कि भनेर सात दिने सूचना निकाल्ने चलन रहेको प्रधान सेनापति शर्माको भनाइ थियो । सञ्चार माध्यमहरूमा पाण्डे पढेको कलेजबाट ‘रजिष्टर उतारेर’ ल्याई संशोधित मिति छोपेर अनेक आरोप लगाएको पाइएको उनले बताए।
‘नेपाली सेनालाई कमजोर बनाउने एउटा तत्व छ, अरूका अघि सेनालाई गिराउन खोज्ने गिरोहको काम हो यो,’ प्रधान सेनापति शर्माले भने, ‘मिडिया र सांसदहरूसँग संशोधित मिति नभएको डकुमेन्ट मात्र छ । म चुनौतीसाथ भन्न सक्छु, संशोधित मिति लेखेको रजिष्टर छ ?’
उनले कसैको उमेर प्रमाणित गर्नुपरे एसएलसी, नागरिकता र चारित्रिक प्रमाण पत्रबाट मात्र प्रमाणित गर्न सकिने बताए । अहिलेजस्तो पहिले अस्पतालले जन्मेको प्रमाणपत्र दिने नदिने उनले बताए ।
‘त्यही तीन निकायका आधारमा हामीले रेकर्ड जनाएका हुन्छौं। यदि गलत भयो भने सम्बन्धित निकायले नदिईकन नेपाली सेनाले न्वारन गर्दैन माननीयज्यूहरू,’ प्रधान सेनापति शर्माले भने, ‘नेपाल आर्मी कसैको न्वारन गर्ने संस्था होइन। चाहे जर्नेल वा सिफाहीको किन नहोस् !’ उनले नागरिकता विवाद भएपछि पुनः प्रमाणीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सोध्ने काम गरिएको बताए।
‘दुई पटकसम्म सिडिओ कार्यालयलाई सोधियो, ठिक छ भन्ने जवाफ दियो । त्रिविलाई पनि सोधेको, ठिक छ भनेको छ । हामीसँग जागिर खान आउँदा पहिलो दिन भरेको फारम पनि हेरेका छौं, सबै ठिक छ । तर त्यो शैक्षिक योग्यतामात्र नेपाल आर्मीले हेर्ने होइन,’ उनले भने । तत्कालीन उपरथि पाण्डेलाई यस्तो विवादित भएपछि भोलिका दिनमा प्रधान सेनापति भए कसरी चलाउँछौं भनेर आफूले सोधेको पनि शर्माले बताए ।








