काठमाडौँ, २८ मङ्सिर
१४ किलो सुन प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजरलाई छानबिन समितिले नियन्त्रणमा लिएको छ । डस्टबिनमार्फत सुन बाहिर ल्याउन ‘सेटिङ’ मा संलग्न रहेको देखिएपछि सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका एक अधिकृतले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले ज्याकेटमा सुन लुकाएर ल्याएका थिए ।
घले त्यतिबेला पक्राउ परेका थिए । चन्द्र घलेले दिएको बयान अनुसार गोरखा घर भएका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मङ्सिर २१ गते विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । सो सुन प्रकरण विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।








