काठमाडाैं मंसिर २५,
विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । आइतबार साँझ विराटनगर-१६ दक्षिण गेटपारि भारतीय भूमिमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर विराटनगर-८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । उनको बायाँ तिघ्रामा गोली लागेको छ ।
घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कोशी अस्पतालको मेडिकल अफिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रामा बुलेटजस्तो देखिएको बताए । ‘तिघ्राभन्दा तला पाटमा स्याडो देखिएको छ । यो भनेको फोरेन बडी हो । बुलेटजस्तो पनि देखिएको छ । तिघ्रादेखि तल फेक्चर पनि भएको छ । यो बुलेटको फोर्स लागेर पनि हुनसक्छ,’ उनले भने ।
यता मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन कुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुन्थ्यो । हामीले पनि बिरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौँ । घटना विषय अनुसन्धान भइरहेको छ,’ उनले भने ।








