असार ३,काठमाडौं ।
चितवनको नारायणगढबाट अपहरणमा परेका १५ वर्षीय किशोरलाई प्रहरीले मंगलबार (असार २) साँझ सकुशल उद्दार गर्यो । उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले अपहरणकारीले किशोरलाई बन्धक बनाएको होटेलबाट उद्दार गर्यो । साथै, अपहरणमा संलग्नहरूलाई नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले आफ्नो टोलीले प्राविधिक विश्लेषणका आधारमा किशोरलाई बन्धन बनाइएको होटेलबाट सकुशल उद्दार गर्न सफल भएको बताए ।
एसएसपी खड्का भन्छन्, “अपहरणजस्तो जघन्य अपराधको अपरेसन प्रहरीका लागि सधैँ चुनौतीपूर्ण नै हुन्छ । अपहरणकारीले अपहरणका परेकालाई उनीहरूले सोचेजस्तो भएन भने जनुसकै बेला पनि हत्या गर्न सक्छन् । हामीले पीडितको जीवित उद्दार र आरोपीलाई पक्राउ गर्नुपर्ने हुन्छ । यो दुवै काम गर्नु हाम्रो लागि ठूलो चुनौती थियो । तर, हामी सफल भयौँ ।”
पछिल्लो समय प्रहरीको सक्रियताले जघन्य प्रकृति र ठूला अपराधका घटना कम भएका थिए । तर, मंगलबारको घटनाले भने प्रहरीलाई झस्काएको छ ।
प्रहरीले सोमबार साँझ नै अपहरणमा परेका नारायणगढका सुन व्यवसायी कृष्ण गुप्ताका १५ वर्षीय छोराको उद्दार गरेको हो । १५ वर्षीय किशोरलाई भारतीय नागरिकले सोमबार साँझ ६ बजे नै नारायणगढबाट अपहरण गरेका थिए । प्रहरीको अनुसन्धानका क्रममा अपहरण गरेर दुई घण्टा नारायणगढकै एक होटेलमा राखेका थिए ।
तर, राति भने भारतीय नम्बर प्लेटकै गाडीमा किशोरलाई काठमाडौं ल्याएका थिए । भारतीय नागरिकहरूले ती किशोरलाई काठमाडौंको गोंगबुस्थित एक होटेलमा पुर्याएर बन्दक बनाएका थिए ।
त्यसपछि अपहरणकारीले पीडितका बुवा कृष्णलाई सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत फोन गरेर २२ लाख रुपैयाँ फिरौती मागे । तर, अपहरणकारीहरूले छोरालाई कहाँ राखेका छन् भन्ने बताएनन् ।
प्रहरी अधिकारीका अनुसार, आफ्नो छोरा अपहरणमा परेकोबारे प्रहरीलाई जानकारी गराउँदा छोरो जीवित नरहन सक्ने त्रासमा कृष्ण थिए । उनी सकेसम्म फिरौती रकम बुझाएर छोराको उद्दार गर्न चाहन्थे ।
प्रहरीले पाएको त्यो ‘चिट’ ?
छोरा अपहरण परेकोबारे करिब २४ घण्टा हुँदासम्म आफन्तले प्रहरीलाई जानकारी गराएका थिएनन् । तर, मंगलबार दिउँसो उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीलाई खबर आयो गाेंगबुको एक होटेलमा एकजना बन्धन बनाइएको जस्तो छ ।
अपरिचित व्यक्तिको हातमा चिर्कटो फेला पर्यो । सूचनालगत्तै प्रहरीको टोली अपरेसनका लागि हिँड्यो । प्रहरीलाई कुन होटेल र को बन्धक छन् भन्ने कुनै जानकारी थिएन । प्रहरीको टोलीले गोंगबु पुगेर बाटोमा भेटिएको चिर्कटबारे जानकारी लिए ।
फेला पार्ने एक युवाले प्रहरीलाई त्यही चिर्कटो उपलब्ध गराए । चिर्कटोमा लेखिएको थियो, “हेल्प, मेरो नाम …गुप्ता । मेरो बुवाको नाम कृष्ण । म नारायणगढबाट हो । प्लिज कल पुलिस मेरो बाबाको नम्बर ९८४५१०… किड्न्याप ।”
प्रहरीले चिर्कटो पाएपछि भने त्यसमा लेखिएको नम्बरमा फोन गरेर घटनाबारे जानकारी लियो । त्यही चिर्कटोबाट प्रहरी र अपहरणमा परेका किशोरका बुवाबीच सम्पर्क भएपछि प्रहरीले अपरेसन थाल्यो ।
कृष्णले छोरा अपहरणमै परेको बताएपछि प्रहरीले होटेलबाट किशोरको उद्दार गर्यो । र, अपहरणमा संलग्नहरूलाई नियन्त्रणमा लिन सफल भयोे । प्रहरीको अनुसन्धानका क्रममा किशोरले उद्दारका लागि शौचालयको झ्यालबाट चिर्कटो फालेको खुलेको छ ।
उनको अपहरणमा संलग्न पाँच भारतीय नागरिकलाई होटेलबाट नै प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा भारत बिहारका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद र गोलु कुमार सोनी छन् ।
कसरी परे अपहरणमा ?
प्रहरीको अनुसन्धानबाट अपहरणमा परेका १५ वर्षीय किशोर र अपहरणमा संलग्न सुजितबीच पुरानो चिनजान हो । सुजितको परिवार पनि केही वर्षअघि चितवनको नारायणगढमै बस्थ्यो ।
त्यही बेलादेखि नै सुजित र अपहरणमा परेका किशोर नजिक थिए । हाल एसर्ईई दिएर ११ कक्षा पढ्ने तयारीमा किशोर छन् । किशोर कक्षा ७ मा पढ्दा सुजित पनि उनी पढ्ने स्कुलमै पढ्थे ।
उमेरले सानाठूला भए पनि सुजित उनको ‘बेस्टफ्रेन्ड’ थिए । सुजित भारत फर्किएपछि भने सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनीहरू जोडिएका थिए ।
सोमबार पनि इन्स्टाग्राममै कुराकानी भएर उनीहरूबीच भेट भएको खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा सुजितले भारतबाट नै अपहरणको योजना बनाएर पीडित किशोरलाई भेट्ने अफर गरेको पाइएको छ ।
सुजितकै आग्रहमा उनीहरूबीच ६ बजे साँझ नारायणगढमा भेट भएको थियो । भेटपछि भने सुजितसहितका पाँचजनाले उनलाई गाडीमा राखेर अपहरण र फिरौती माग्न थालेको प्रहरीले जनाएको छ । साथी भनेर विश्वासले भेट्दा उनी अपहरणमा परेको निष्कर्ष प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको हो । पक्राउ परेकामाथि प्रहरीले अपहरण/शरीर बन्धक कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।अपहरणमा संलग्नमध्ये सुजित र गोलु कुमार विहारमै भएको एक हत्या घटनामा समेत संलग्न भएको खुलेको प्रहरीले जनाएको छ ।















