– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख १८ –
लागु औषध गाँजा र अफिमको खेती गर्न नेपालमा प्रतिबन्ध छ । प्रतिबन्ध भए पनि कतिपय स्थानमा भने यसको खेती हुने गरेको छ । चितवनमा पनि वर्षेनी बिगौं बिगाहामा गाँजा खेती हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ को ९ महिनामा चितवनका विभिन्न स्थानमा गरी ३ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा र १४ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी रविन्द्र खनालका अनुसार राप्ती नगरपालिकाको पहाडी क्षेत्र वडा नम्बर १०, ११, १२ र १३ नम्बर वडामा गरी सो क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरिएको हो । राप्तीका यी क्षेत्रमा स्थानीयले वर्षेनी गाँजा र अफिम लगाउने अनि प्रहरीले फँडानी गरिदिने क्रम चलिनै रहेको छ ।
गत आव २०८१/०८२ मा विभिन्न स्थानमा गरी ७९ बिगाहा १८ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ९ बिगाहा ७ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम प्रहरीले नष्ट गरेको थियो । गत वर्ष पनि राप्तीका १० देखि १३ नम्बर वडामै धेरैजसो फँडानी गरिएको डीएसपी खनालले जानकारी दिए ।
त्यसैगरी आव २०८०/०८१ मा विभिन्न स्थानमा गरी ५५ बिगाहा ८ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा र १६ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको थियो । त्यसबेला पनि राप्तीको पहाडी भेगमै नष्ट गरिएको थियो ।
स्थानीयले रामै्रसँग खनजोत गरी, मलजल हालेर खेती गर्ने गरेको पाइएको डीएसपी खनालले बताए । असार–जेठमा खेती लगाउने र पुष–माघमा उत्पादन लिने हुन्छ । प्रहरीले मंसिर–पुषमा गस्ती गरेर फँडानी गर्ने गरेको छ ।

प्रहरी गाँजा र अफिम खेती फँडानी गरेर फर्कने गरेको । अहिलेसम्म खेती गर्नेहरुलाई पक्राउ गरी कारबाही नगरिएको डीएसपी खनालले जानकारी दिए ।
जिल्ला प्रहरी कर्यालय चितवनका प्रमुख एसपी गोबिन्द पुरीले स्थानीयले ऐलानी जग्गामा गाँजा र अफिम खेती लगाउने भएकाले कसले लगायो भनेर पहिचान गर्न गाह्रो हुने गरेको बताए । उनी भन्छन्, ‘फँडानी गर्ने बेलामा कोही स्थानीय भेटिँदैनन् । प्रहरीको टोली जान्छ अनि गाँजा अफिम खेती देखेपछि फँडानी गरेर फर्कन्छ ।’ फँडानी गर्ने क्रममा अहिलेसम्म स्थानीयबाट प्रतिवाद नभएको उनले बताए ।
कुन व्यक्तिले लगाएको हो भन्ने पहिचान र प्रमाणित भयो भने मात्र कारबाही गर्न सकिने उनले बताए । यदि खेती गर्ने व्यक्ति फालानो हो भनेर प्रमाणित भएमा लागुऔषध उत्पादन, प्रयोग र ओसापसार सम्बन्धी ऐन अुनसार नै कारबाही हुने एसपी पुरीले बताए ।
प्रहरीले गस्ती र स्थानीयको सूचनाका आधारमा गाँजा र अफिम खेती गरिएको स्थानको पहिचान गर्ने गरेको छ । गाँजा र अफिम खेती नगर्न सचेतना जगाउने कार्यक्रम समेत गर्ने गरिएको उनले जानकारी दिए ।
यस वर्ष गाँजा खेती विगतको तुलनामा निकै न्यून देखिएको छ भने अफिम खेती भने बढेको देखिन्छ । वर्षेनी प्रहरीले फँडानी गर्ने र सचेतना जगाउने गरेका कारण गाँजा खेती घटेको एसपी पुरीले बताए । गाँजा खेती घट्दै जानु राम्रो भयो । तर स्थानीयले अफिम खेती भने बढाएका छन् । गाँजा छाडेर अफिम खेती किन बढाउन थाले यसतर्फ प्रहरीले चनाखो भएर ध्यान दिन जरुरी देखिन्छ ।
















