भरतपुर,वैशाख १९ –
भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा एसईई दिएर बसेका विद्यार्थीहरुलाई नि:शुल्क सिपमूलक तालिम सम्पन्न भएको छ । स्कुलले एसईई दिएर बसेका विद्यार्थीको खाली समयको सदुपयोग गर्दै वैशाख १३ देखि आयोजना गरेको तालिम आज (शनिबार) सम्पन्न भएको हो ।
तालिमको समापन समारोहका प्रमुख अतिथि काठमाडौं बेकरीका सिईओ प्रकाश श्रेष्ठले एसईई पछि खाली बसेका विद्यार्थीहरुलाई सीप सिक्ने राम्रो अवसर स्कुलले प्रदान गरेको बताए । उनले तालिममा सहभागी विद्यार्थीहरुलाई काठमाडौं बेकरीमा ५० प्रतिशत छुट दिने बताए ।
स्कुलकी प्राचार्य इन्दिरा कार्कीले यो तालिम एसईई दिएर बसेका विद्यार्थीहरुका लागि उपयोगी भएको विश्वास व्यक्त गरिन् । स्कुलले सधैं सिपमूलक गुणस्तरीय शिक्षामा जोड दिदै आएको भन्दै यो तालिम त्यसैको एउटा उदाहरण भएको उनको भनाइ थियो । यो तालिमले विद्यार्थीलाई आगामी दिनमा अध्ययनसँगै रोजगारीका लागि बाटो खुल्ने उनले विश्वास व्यक्त गरिन् ।
स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले तालिममा सिकेको सीप व्यहारिक जीवनमा उपयोग गर्दै स्वरोजगार बन्न जोड दिए । विभिन्न ४ विधामा तालिम सञ्चालन भएको कार्यक्रम संयोजक स्कुल नर्स सुरुची कँडेलले जानकारी दिइन् । स्कुलले केक बनाउने तालिम, ब्युटिसियन, गर्मी मौसमका लागि पेय पदार्थ बनाउने तथा वेब पेज डिजाइनिङ तालिम दिएको हो ।
तालिममा ग्रीनल्याण्डसँगै विभिन्न स्कुलबाट एक सय २० जना सहभागी थिए । कार्यक्रममा स्कुलका प्लस टु व्यवसथापन संकाय संयोजक रामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।







