– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख २३ –
वर्षेनी फागुनदेखि जेष्ठसम्मको खडेरीमा वनमा डढेलो लाग्ने गरे पनि यसवर्ष चितवनमा हालसम्म डढेलो लागेको छैन ।
डिभिजन वन कार्यालय भरतपुर चितवनका प्रमुख विष्णु प्रसाद आचार्यले यस वर्ष चितवनमा कतै पनि डढेलो लागेको थाहा नपाइएको बताए । उनले भने,– पानी पर्ने भइरहेका कारण डढेलो लाग्न पाएन । थाहा पाउने गरी ठूलो क्षेत्रफलमा अहिलेसम्म डढेलो लागेको छैन । तथ्यांकमा भनौं भनेँ शुन्य कै अवस्थामा छ । तर डढेलो शुन्य अवस्थामै रह्यो भनेर भन्न चाहिँ अल्लि मिलि हाल्दैन । किनकी कतै साना तिना लागेर निभेको पनि हुनसक्छ ।’
‘फागुनदेखि जेष्ठसम्ममा डढेलो लाग्ने जोखिम रहन्छ । बैशाख अन्तिम साता र जेष्ठ महिना बाँकी नै रहेकाले डढेलो लाग्न पनि सक्छ । सचेत भने हुनैपर्छ, उनी भन्छन्, ‘बीचमा एक पटक पानी प¥यो भने चाहिँ अब डढेलो नलाग्ला ।’ विगतका वर्षहरुमा चैत बैशाखमा नै बढी डढेलो लाग्ने गथ्र्यो ।
चितवन राष्ट्रिय निकुञ्ज समेत गरेर चितवनको कुल क्षेत्रफलको ६५ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ । चितवनमा विभिन्न क्षेत्रमा वर्षेनी वनमा डढेलो लाग्ने गरेको थियो । डिभिजन वन कार्यालय भरतपुर चितवनका वन अधिकृत सुजिन लामाका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ७९६ हेक्टर, २०८०/८१ मा २० हजार ४८५ हेक्टर, २०७९/८० मा ३५ हजार १५३ हेक्टर, २०७८/७९ मा २६ हजार ५५७ हेक्टर, २०७७/७८ मा ३० हजार ८७५ हेक्टर र २०७६/७७ मा १६ हजार १५४ हेक्टर क्षेत्र वन डढेलोबाट प्रभावित बनेको थियो ।
यसवर्ष १÷२ दिन जति चितवनको वायुमा धुवाँ देखिएको थियो । यसबारमो बोल्दै कार्यालय प्रमुख आचार्यले भने, ‘चितवनमा छिमेकी जिल्लामा भएको डढेलो र भारतमा लागेको डढेलोको समेत धुवाँ आउने गरेको छ । कतै सानो क्षेत्रमा चितवनमै वन डढेलो लागेको धुवाँ पनि हुन सक्छ । सानो क्षेत्रफलको डढेलो खासै पत्तो पाइँदो रहेन छ ।’
चितवन जिल्ला वन डढेलोको उच्च जोखिममा रहेको जिल्ला हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेतलाई वन डढेलोको उच्च जोखिममा रहेको जिल्लाका रुपमा राखेको थियो । उच्च जोखिममा रहेको जिल्ला चितवनमा हालसम्म डढेलो शुन्य अवस्थामा रहनुमा पानी पर्नुसँगै अन्य कारणहरु पनि छन् ।
सचेतनामूलक कार्यक्रम र पूर्व तयारीका कारण समेत डढेलो लाग्नबाट जोगाउन सकिएको कार्यालय प्रमुख विष्णु प्रसाद आचार्य बताउँछन् । किनकी प्राकृतिक र मानवीय दुबै कारणले वनमा डढेलो लाग्ने गर्दछ । प्राकृतिक कारणमा तीव्र रुपमा हावाहुरी बतास चल्दा बाँस वा अन्य रुखहरु एक आपासमा घर्षण हुन गई निस्केको आगोको झिल्का वा चट्यांगका कारण आगो सल्किन गई अनियन्त्रित रुपमा फैलन्छ । वन डढेलो प्राकृतिक भन्दा पनि मानवीय कारणले नै बढी लाग्ने गरेको प्रमुख आचार्यले बताए ।
मानवीय कारणहरुमा जानीजानी र आकस्मिक गरी दुई किसिमबाट वन डढेलो हुने गर्छ । राम्रो घाँस पलाउने आश गरेर, ह्रिंस्रक वन्यजन्तु धपाउन, खोरिया फँडानी गरी खेती गर्न, रुख सुकाएर काठ दाउरा काट्न र वन्यजन्तु शिकार गर्न मानिसहरुले जानी जानी वनमा डढेलो लगाउने गर्दछन् ।
त्यसैगरी चुरोट, बिडी, सलाईका काँटी ननिभाई वनमा फ्याक्दा, वनभित्र जाने विद्युतको लाईन सर्ट भएर, वनभोज खाईसकेपछि आगो ननिभाई वनमा छाडेर, खेतबारी तथा खरबारी सफा गर्न लगाइएको आगो अनियन्त्रित भई वनमा प्रवेश गरेर, गाडीबाट आगोको झिल्को निस्किएर वनमा मानवीयक कारणले आवस्मिकरुपमा डढेलो लाग्ने गर्दछ ।











