चितवन,असार २-
चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ । प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको हो । चितवनको नारायणगढबाट सोमबार (असार १) साँझ १६ वर्षीय बालकको अपहरण गरिएको थियो । ५ ६ जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए । उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौंमा लगेका थिए । काठमाडौंका एक होटेलमा बन्धक बनाएर उनका परिवारजनसँग पैसा मागेको प्रहरीले जनाएको छ ।
बालकलाई अपहरण गरेर उनका परिवारसँग पैसा मागेको सूचना हामीकहाँ आएको थियो । त्यसपछि खोजतलास गर्दा बसपार्कको एक होटेलमा बालकको उद्धार गरेका हौँ, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भन्नुभयो । अपहरणमा संलग्न रहेको आरोपमा पाँच भारतीय पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा भारतको बिहारका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद र अर्का गोलु कुमार छन् । घटनामा संलग्नहरूको आपराधिक पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।















