काठमाडौँ, फागुन ९-
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।
बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारी प्रवद्र्धन गर्नु यो दिवसको उद्देश्य हो ।
यो दिवस सन् २०००देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० महासभाको आह्वानमा हरेक वर्ष फेब्रुवरी २१ मा मनाइन्छ । सन् १९९९ मा बङ्गलादेशलको पहलमा युनेस्कोले मातृभाषा दिवस मनाउने प्रस्ताव अघि सारेको हो । यो प्रस्तावलाई राष्ट्रसङ्घीय महासभाले सन् २००८ अनुमोदन गर्दै यसलाई अन्तरराष्ट्रिय भाषा वर्ष घोषणा गरेको थियो ।
यसैबीच, अन्तरराष्ट्रिय भाषा दिवसका अवसरमा यहाँस्थित बङ्गलादेशको राजदूतावासले सहिद स्मृति दिवसका साथ एक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
शुक्रबार यसै अवसरमा भाषा आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा एक कार्यक्रम आयोजना गरेको थियो । त्यस अवसरमा उक्त मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका साथै नेपालका लागि बङ्गलादेशका राजदूत शफीकुर रहमान उपस्थित हुनुहुन्थ्यो ।
युनेस्कोका अनुसार भाषाका माध्यमबाट विकासमा, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न, सहकार्य सुदृढ बनाउन र सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको छ । रासस








