काठमाडाैं, असार २८
गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सम्झौतालाई राष्ट्रिय सहमति भएको भन्दै राष्ट्रिय र राष्ट्रियता शब्दकै मानमर्दन गरिएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन गरेको प्रस्तावको छलफलमा भाग लिँदै लामिछानेले आफ्नै नेता र सांसदले थाहा नपाएको विषयलाई राष्ट्रिय सहमति भनेको भन्दै आपत्ति जनाएका हुन् ।
हतारमा गरेको सहमतिपछि रातारात भाग्नुभन्दा पदमा बसेर जिम्मेवारी पूरा गर्ने विषयलाई प्राथमिकतामा राखेको रविले बताए ।
‘सहमति भनिएको छ तर यस्तो सहमतिबारे राष्ट्र, जनता मात्रै होइन सहमति गर्ने दलका सांसद र नेतालाई नै थाहा छैन । मध्यरातमा व्यापारीको घरमा बसेर गरिएका सहमतिलाई राष्ट्रिय भनेर लेख्न लगाउँदा राष्ट्र र राष्ट्रियता कै मानमर्दन भएको छ,’ रविले भने, ‘एकाएक सहमतिमा किन पुग्नुपरेको हामीलाई आशंका छ ?’
मध्यरातमा सहमति हुने तर भोलिपल्ट सहमति भएको के हो भनेर अझ थाहा नहुनु बिडम्बनाको विषय भएको उनले बताए ।