काठमाडौं असार, २५
नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणाले खोलाको छेउछाउमा घर बनाउन रोक लगाउनुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले खोला किनार तथा बढीग्रस्त क्षेत्र वरपर घर बनाउन रोक लगाउने गरी नीति बनाउनुपर्ने बताएकी हुन् ।
‘कुन ठाउँमा बस्ती बसाउन सुरक्षित हो, कुन ठाउँ होइन भनेर भन्दिनुपर्छ’, उनले भनिन्, ‘‘मान्छे संरक्षणका लागि खोलाका वरपर घर बनाउनु हुँदैन, बाढीग्रस्त क्षेत्र कति तोक्ने भन्ने हामीले नीति बनाउनुपर्छ । नभए हरेक वर्ष यस्ता समस्या दोहोरिरहन्छ ।’
राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र वरपर वन्यजन्तुको संरक्षणका लागि मध्यवर्ती क्षेत्र भनेर छुट्याइएजस्तै मान्छेको संरक्षणका लागि पनि खोला तथा नदी किनारमा निश्चित मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ ।
सांसद देउवाले हिमतालहरुको अनुगमन र संरक्षणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने पनि बताइन् । सन् २०२५ लाई ताजकिस्तानले हिमनदी संरक्षण वर्ष ९युएन इयर अफ दि ग्लेसियर० को रुपमा घोषणा गर्न माग गरेको भन्दै उनले यसलाई नेपालले पनि समर्थन गर्नुपर्ने धारणा राखिन् ।
पछिल्लो १० वर्षमा विश्वभर हिमताल विस्फोटको घटना बढ्दै गएको भन्दै सांसद देउवाले यो खबर नेपालका लागि भयावह भएको बताइन् । ‘अहिले नदी बढेर जसरी बाढी आएर धनजनको क्षति भएको छ । हिमताल फुट्दा यो भन्दा ठूलो आपत आउन सक्छ । हामी हिमतालबाट जन्मिएका नदीहरुको वरपर मात्र बसोबास गरिरहेका छैनौं, हाम्रा कृषि, धर्म, संस्कृति यी नदीहरुको आधारमा अघि बढेको छ’, उनले भनिन् ।