काठमाडौँ, २५ जेठ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् ।
शुक्रबार प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित रहेको हो ।
छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह भने अनुपस्थित रहेका थिए । बालेनले पटकपटक सङ्घीय सरकारको आलोचना गर्दै आएका छन् ।
छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको थियो ।