काठमाडाैं बैशाख ११,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कतारका राजलाई दिन लागेको सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका छन् ।
कतारका राजा अमिर शेख तमीम बिन हमद अल थानी लोकप्रिय राजा रहेको भन्दै उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।
‘लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम बिन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ। कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिइने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको । यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो’, लिङ्देनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘त्यसैले हीनताबोध नगरौँ ! नवीन समझदारी गरौं !! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गरौँ !!!’
कतारका राजालाई दिइने सम्मान, सलामी र सार्वजनिक बिदाको विषय राजसंस्थाप्रतिको सम्मान भएको उनको भनाइ छ ।
कतारका राजा अमिर शेख तमीम बिन हमद अल थानी मंगलवार साँझ नेपाल आएर बुधवार फर्किँदै छन् ।