१० वैशाख, काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने बताएको छ ।
यही वैशाख १४ गतेसम्म तराईका केही स्थानमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ ।
विभागको तथ्यांकअनुसार सोमबार दिउँसो अधिकतम तापक्रम भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस मापन भएको छ । यस्तै जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको छ ।
महाशाखाका अनुसार धनुषादेखि कञ्चनपुरसम्म (चितवन र नवलपुरबाहेक) का क्षेत्रमा १४ वैशाखसम्म अध्यधिक गर्मी हुने सम्भावना छ । तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यस क्षेत्रकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।