सिरहा, १० वैशाख
सिरहामा मादक पदार्थ सेवन(मापसे) गरेर एम्बुलेन्स चलाएको आरोपमा चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा एम्बुलेन्स चालक लहान नगरपालिका–१ का ३२ वर्षीय दिनेश कुमार दास रहेका छन् ।
सूर्य ज्योति विकास समाजको नाम रहेको स १ च ६९१ नम्बरको एम्बुलेन्स चेक गर्दा चालकले पदार्थ सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुक्ति नाथ सापकोटाले जानकारी दिए ।
‘एम्बुलेन्स एउटा संवेदनशील वाहन हो। कसैको ज्यान बचाउनका लागि चाँडोभन्दा चाँडो अस्पताल सहज रुपमा पुर्याउनु पर्ने हुन्छ । तर, उनीहरू मापसे र लापसे गरेर सवारी चलाउँदा गाडीभित्र र बाहिरका मानिसहरू उच्च जोखिममा हुन्छन्’ डिएसपी सापकोटाले भने ।
दासलाई सार्वजनिक अपराध अन्तर्गतको अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।