काठमाडौँ, ५ वैशाख
लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधवार पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई पेप्सीकोलामा गाडीमा सवार रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
उच्च अदालत पाटनले उनलाई २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
तर जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो । २०६४ जेठ २० गते पुनरावेदन अदालत पाटनका न्यायधीशद्वय अलि अकवर मिकरानी र जनार्दन बहादुर खड्काको इजलासले दावालाई ५ वर्ष जेल सजाय सुनाएको भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।
यस्तो छ दावाले अदालतसमक्ष गरेको बयानको सारांश:-
म बाट लागु औषध बरामद भएको होइन मेरो साथी नवीन लामा वनस्थलीमा खाजा खान गएको थिएँ । निजसँग लागु औषध खैरो हेरोइनको प्याकेट रहेछ । उक्त कुरा थाहा पाई प्रहरी त्यहाँ आई निजलाई पक्राउ गरी लागु औषध बरामद गरी निजलाई कुटपिट गरी छाडी दिए र मलाई समाते । प्रहरी समक्ष गरेको बयान मेरो होइन । जबरजस्ती झुटा ब्यहोरा लेखिएको कागजमा सहीछाप गराएका हुन् । मलाई पढ्न समेत दिइएन । लागु औषध कारोबारमा मेरो कुनै संलग्नता नै नभएको हुँदा मलाई सजाय हुनु पर्ने होइन ।