काठमाडौँ, ५ वैशाख
लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधवार पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई पेप्सीकोलामा गाडीमा सवार रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका लामालाई जिल्ला अदालत काठमाडौंमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।
उच्च अदालत पाटनले उनलाई २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।