काठमाडौँ, ४ वैशाख
गृहमन्त्री रबि लामिछानेलाई सहकारी पीडितले जीबी राई खोई भन्दै प्रश्न गरेका छन् ।
आज मंगलबार बुटवलको सुप्रिम सहकारीका बचतकर्ताहरुले सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राई सहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोई ? भन्देऊ रवि दाइ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकसम्म पुगेको थियो ।
सहकारी पीडितले सुप्रिमका बचतकर्ताको रकम गैरकानुनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा २ करोड रकम गएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको प्रदर्शनमा सहभागीले बताएका छन् ।
सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुँदा गृहमन्त्री लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानवीन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बोलेको तर अहिले किन तयार नभएको भन्दै प्रश्न उठाएका थिए ।