बारा, २४ चैत
बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादव रहेका छन् ।
काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसले ठक्कर दिएको हो ।
प्रहरीका अनुसार अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे ड्युटीमा खटिएका ट्राफिक प्रहरी यादवको घटनास्थलमै मृत्यु भएको हो ।
रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








