काठमाडौँ, १८ माघ
त्रिभुवन विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरी गर्ने नेपाल वायुसेवा निगमका लोडर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख महावु गाउँपालिका-३ घर भई काठमाडौँ काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार रहेका छन् । उनलाई बुधबार दिउँसो पक्राउ गरिएको हो ।
काठमाडौँबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । याङ्गहाङले भाट चोरी भएको भनी निवेदन दिएपछि प्रहरीले सिसिटिभी फुटेज हेर्दा सुनारको गतिविधि शङ्कास्पद देखिएको भन्दै उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले उनको साथबाट विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद गरेको छ। उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।








