काठमाडाैं माघ १६,
नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि दोस्रोपटक दोषी ठहर भएको छ । भ्याट बिलमार्फत् कर छली गरेको अभियोग लागेको भाटभटेनीलाई सर्वोच्च अदालतको पूर्ण इजलासले दोस्रोपटक पनि दोषी ठहर गरेको हो ।
न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले मंगलवार भाटभटेनीलाई सफाइ दिन अस्वीकार गरेको अदालत स्रोतले जनाएको छ ।
नक्कली भ्याट बिल जारी गर्दा भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजश्व ठगी गरेको भनी यसअघि दुई न्यायाधीशको इजलासबाट गरेको आदेश सदर गर्ने फैसला भएको हाे ।
भाटभटेनीले सरकारलाई करिब १३ करोड रुपैयाँ नक्कली भ्याट बिलमार्फत् राजश्व ठगी गरेको सर्वोच्चको ठहर छ । भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजश्व ठगी गरेको पाइएको हो ।
यसअघि सर्वोच्चले २०७६ पुसमा नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनीसहित पाँच कम्पनीलाई दोषी पनि ठहर भएको फैसला गरेको थियो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले राजश्व न्यायाधीकरणले गरेको फैसला सदर गर्दै दोषी ठहर गरेको फैसला सुनाएको थियो ।
ती कम्पनीमा भाटभटेनीसँगैआईटी प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, शङ्कर अक्सिजन ग्यास प्रालि र बानियाँ स्टोर्स एण्ड फर्म छन् ।








