काठमाडौँ, ३ पुस
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले कुवेतबाट पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् ।
लामाविरुद्ध प्रहरी वृत्त जगती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।
एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको हो।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।