बारा, ३० मङ्सिर
बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।
घटनाको छानबिनसहित मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतकका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
बाराको सिम्रौनगढ नगरपालिकामा बुधवार शिक्षक–कर्मचारी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका १ का २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।
मुख्याको शव हाल वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहका अनुसार मुखियाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
मृत्यु भएको ४ दिन बितिसक्दा पनि शव परीक्षण भएको छैन भने आफन्तले शव पनि बुझेका छैनन् ।








