पोखरा, २३ मङ्सिर
पोखरा वडा नम्बर ६ का सदस्य सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा सदस्य ४२ वर्षका दीपेन्द्र पहारी, पोखराको लेकसाइड बस्ने २४ वर्षका अभिषेक परियार, २२ वर्षका प्रवीन विश्वकर्मा र ४१ वर्षका विकास पहारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
लेकसाइडको फुटट्रयाकमा फोटोग्राफी गरे बापत व्यवसायीहरूसँग धम्क्याएर प्रतिव्यक्ति १३ हजार ५ सयका दरले लिएको आरोप उनीहरूलाई छ । व्यवसायीहरूले नै उनीहरू विरुद्ध जाहेरी दिएका थिए ।
उनीहरू विरुद्ध १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ।








