काठमाडाैं जेठ १४,
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका सन्दर्भमा आइतबार राजनीतिक र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुसँग परामर्श गर्ने भएका छन् ।
जेठ १७ देखि भारत भ्रमण गर्न लागेका प्रचण्डले भारतसँग उठाउने एजेण्डालगायतका विषयमा सिंहदरबारमा परामर्शका लागि सरोकारवालालाई बोलाएका हुन् ।
जसअनुसार दिउँसो २ बजे प्रधानमन्त्रीले राजनीतिक परामर्श गर्दैछन् । बैठकमा पूर्वप्रधानमन्त्री, दल नेता र पूर्व परराष्ट्रमन्त्रीहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
यस्तै साँझ साढे ५ बजे पूर्व परराष्ट्र सचिव, भारतका लागि पूर्वराजदूत र विज्ञहरुसँग पनि परामर्श लिने कार्यक्रम तय भएको आचार्यले बताए ।
\\\शनिबार नेपाल र भारतका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेका थिए ।