काठमाण्डौं, १० चैत
नेपालमा एक वर्षको अवधिमा छोराभन्दा छोरी २३ हजार कम संख्यामा जन्मिएका छन् । राष्ट्रिय तथ्यांक विभागले आज सार्वजनिक गरेको जनगणना २०७८ को पूर्ण विवरणमा छोराभन्दा तीन प्रतिशत कम छोरीको जन्मिएको देखिएको हो ।
प्रतिवेदन अनुसार नेपालमा एक वर्षको अवधिमा कुल ४ लाख १२ हजार ९ सय ३५ जना बच्चाको जन्म भएको छ । जसमध्ये २ लाख १८ हजार ७४ जना अर्थात ५२.८ प्रतिशत छोरा र १ लाख ९४ हजार ८ सय ६१ अर्थात् ४७।२ प्रतिशत छोरीको जन्म भएको छ । यसरी हेर्दा एकै वर्षको अवधिमा २३ हजार २१३ जना छोराभन्दा छोरी कम जन्मिएका छन् ।
एक वर्षको अवधिमा जन्मेका बच्चाहरुमध्ये सबैभन्दा धेरै ३६.८ प्रतिशत बच्चाको जन्म २०–२४ बर्षका महिलाबाट भएको छ । त्यसपछि २९ दशमलव ७ प्रतिशत बच्चा २५ देखि २९ वर्षका आमाबाट र १५ दशमलव ३ प्रतिशत बच्चा ३० देखि ३४ वर्षका आमाबाट भएको छ। नेपालमा २० वर्षभन्दा कम उमेरका आमाले ९ प्रतिशत बच्चालाई जन्म दिएका छन् । यस्तै ४५ देखि ४९ वर्षका आमाले पनि १ प्रतिशतलाई जन्म दिएको प्रतिवेदनमा उल्लेख छ ।